
काठमाडौँ - संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित हुने भएको छ। सञ्चार, स्वास्थ्य, कृषि र ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रश्नमा सांसदहरूले उठाउने जिज्ञासाको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने तयारी गरिएको छ।
आजको बैठकमा सभामुखले “नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले “बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सदनमा पेस गर्नेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको “संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयका प्रश्नोत्तरदेखि संवैधानिक र सामाजिक विषयमा प्रभाव पार्ने विधेयकमाथिको छलफलसम्म हुने भएकाले राजनीतिक र संसदीय वृत्तमा उच्च चासो देखिएको छ।