Harsamaya
ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधार मन्त्री दाहालबिच छलफल : विकास निर्माणमा तीव्रता दिन आग्रह

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी संखुवासभालगायत देशभरका विकास निर्माण योजनामा गति दिन आग्रह गरेका छन् । भौतिक पूर्वाधार मन्त्रालयको कार्यकक्षमा भएको भेटमा मन्त्री खड्काले आगामी वर्षमा पनि विगतका जस्तै बजेट फ्रिज हुने अवस्था दोहोरिन नदिन, योजनाहरू समयमै सम्पन्न गर्न र योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री दाहालसँग विशेष जोड दिए ।

 उनले भने, ‘जनताले अनुभूति गर्ने खालका विकास योजनाहरूलाई प्राथमिकतामा राखेर समयसीमा भित्र सम्पन्न गर्नु आजको आवश्यकता हो। ढिलासुस्तीका कारण विकासमा जनआस्था घट्दै गएको छ, त्यसैले यथाशीघ्र सुधार आवश्यक छ ।’

मन्त्री खड्काले संखुवासभा जिल्लामा सञ्चालनमा रहेका सडक, पुल तथा आवासीय संरचना निर्माणलाई तीव्रता दिन मन्त्री दाहालसँग आग्रह गरे । मन्त्री खड्काले चाडपर्व नजिकिएकासँगै राजधानीबाट जिल्ला फर्किनेहरूको चहलपहल बढ्ने भएकाले सुरक्षित रूपमा आवतजावतकालागि  बाटोघाटो र यातायातको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा भौतिक पूर्वाधार मन्त्री दाहालले ऊर्जा मन्त्री खड्काको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा मन्त्रालयबिच सहकार्य गरेर काम अघि बढाइने बताए । उनले भने, ‘विकास कुनै एक मन्त्रालयको जिम्मेवारी मात्र होइन, यो साझा एजेन्डा हो। त्यसैले ऊर्जा, भौतिक पूर्वाधार, सहरी विकास लगायतका निकायबिचको सहकार्य अझ मजबुत पार्दै योजनाहरूलाई परिणाममुखी बनाइनेछ ।’

यसैबिच, ऊर्जा मन्त्री खड्काले सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई समेत संखुवासभा र अन्य जिल्लामा भौतिक पूर्वाधारका योजना छिटो सम्पन्न गर्न निर्देशन दिए । विशेष गरी विनियोजित कार्यक्रम र बजेट फ्रिज नहुने गरी योजना कार्यान्वयनमा तीव्रता दिन मन्त्री खड्काले सचिव सिग्देललाई आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update