Harsamaya
बोटविरुवा संरक्षण सिक्न टाकुरे पुगे बलेफीका महिला कृषक
बलेफी गाउँपालिका–४ डाडागाउँ जलवायु आदिवासी महिला कृषक समूह का ३० जना आदिवासी महिला कृषक मंगलबार इन्द्रावती–४ टाकुरेमा बोटविरुवा संरक्षणसम्बन्धी अध्ययन भ्रमणमा।

सिन्धुपाल्चोक - बलेफी गाउँपालिका–४ डाडागाउँ जलवायु आदिवासी महिला कृषक समूह का ३० जना आदिवासी महिला कृषक मंगलबार इन्द्रावती–४ टाकुरेमा बोटविरुवा संरक्षणसम्बन्धी अध्ययन भ्रमणमा पुगेका छन्।

चेतनशील प्रभाव नेपालले सञ्चालन गर्दै आएको फार्ममा पुगेर महिलाले बोटविरुवा संरक्षणका उपाय, जलवायु परिवर्तनका असर तथा यसको प्रतिकारबारे व्यवहारिक ज्ञान हासिल गरेका हुन्।

कार्यक्रममा कुमारी बोम्जनले सुन्तला, लप्सी, कागती, टिमुरलगायत फलफूलका बिरुवा जोगाउने तरिका प्रस्तुत गर्दै महिलाको भूमिकालाई महत्त्वपूर्ण ठहर गरिन्।

समूहकी अध्यक्ष मनिषा तामाङले सिकेका सीपलाई व्यवहारमा उतारेर वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

सो अवसरमा वडा सदस्य रजनी तामाङ र सामाजिक परिचालक निरुता तामाङले सामूहिक रूपमा प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्दा गाउँ हरियाली बन्ने धारणा राखे।

समूहकी सचिव रमिला तामाङले महिलाले परम्परागत खेतीलाई संरक्षण गर्दै फलफूलका बिरुवा रोपेर आर्थिक स्तर उकास्ने लक्ष्यसहित परियोजना सञ्चालन भइरहेको जानकारी दिइन्।

भ्रमणका क्रममा बलेफी र इन्द्रावतीका महिलाले अनुभव आदानप्रदान गर्दै बोटविरुवा संरक्षणका व्यावहारिक तरिका सिकेका थिए। प्रत्यक्ष अवलोकनले थप ज्ञान प्राप्त भएको सहभागी महिलाहरूले बताएका छन्।

सलासन नेपालका अनुसार यो परियोजना बलेफी र इन्द्रावती दुवै गाउँपालिकामा जलवायु नेतृत्वमा महिलाको भूमिका सशक्त बनाउन सञ्चालन गरिएको हो।

कार्यक्रम आदिवासी महिला उत्थान केन्द्र सिन्धुपाल्चोक, केयर नेपाल, राष्ट्रिय आदिवासी महिला मञ्च र पार्टनरसिप क्यानडाको सहकार्यमा सम्पन्न भएको हो।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update