Harsamaya
आन्दोलनमा उत्रिए कवाड व्यवसायी, बालेनले १५ करोड लिएको आरोप
कवाड व्यवसायी समाज नेपाल ।

काठमाडौं - कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, सङ्कलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसै गरी, कवाड व्यवसायी, सङ्कलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । उनले भने,‘अब हामी पछाडि हट्ने छैनौँ । अब हामी कि त बालनेलाई बाध्य बनाउँछौँ । कि गर्छौँ, कि मर्छौँ भनेर लागिपरेका छौँ । हाम्रो आन्दोलन अब सफल भएर मात्रै टुङ्गिनेछ’ ।

कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरूलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरू संवैधानिक अधिकार र सरकारको कानुनभित्र बसेर कर तिरिरहेको बताए ।

उनले काठमाडौंका मेयर बालेनले आफूहरूको पेसा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए ।

‘हामीले काठमाडौंको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा–दिँदा हामी नै सकिन लाग्यौँ । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो । तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौँ । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौँ । हामी सकिन लागेका छौँ । तिमीलाई पनि सकाउँछौँ । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौँ ।’ कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए ।

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update