
काठमाडौं - पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीन भावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश हुने मानिसहरू कम्युनिष्ट पार्टी नै परित्याग गरेर हिँड्ने भन्दै आशावादी हुन आग्रह गरेका हुन् ।
उनले भने, ‘जहिले पनि यो नकारात्मक मानसिकताका साथ हीन भावले ग्रसित भएर अघि बढ्ने काम नगर्नुस् । त्यस्ताहरूले पार लगाउँदैनन् । त्यस्ता निराशहरू पलायन हुन्छन् । संयोजन गर्ने मानिसहरू निराश बनाउने पनि छन् र आशावादीहरू पनि छन् । कम्युनिष्ट पार्टीनै परित्याग गरेर हिड्नेहरु पनि छन् ।’
उनले कोही निराशावादीले कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने भ्रम समेत बाँडेको भन्दै आशावादी भएर अगाडि बढ्न सकिने बताए । उनले पार्टीभित्र सकारात्मक सन्देश मात्र दिने काम गर्नुपर्ने भन्दै पार्टी कमिटीभित्रको कुरा आन्तरिक मामिला बनाउनुपर्ने बताए ।
‘हाम्रो पार्टीका नेता कार्यकर्ताले जहिले पनि मासमा सकारात्मक सन्देश दिनुपर्छ । पार्टी कमिटीभित्र बसेर सबै कुराहरू छलफल गर्न पाइन्छ । त्यो पार्टीभित्रको आन्तरिक मामिला बनाउनुपर्छ । पार्टीभित्र बसेर छलफल गर्न सकिन्छ,’ उनले भने ।
उनले अनुशासनहीन मानिसलाई छुट दिन नसकिने भन्दै पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु फरक कुरा भएको बताए ।