
काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोट्र्स अवार्डको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरेको छ ।
मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जनमतद्वारा बिजेता बनाउने पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो । यस वर्ष पिपल्स च्वाइसमा मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी समावेश भएका छन् ।
यस अवार्डको विजेता आईएमई खल्तीमार्फत हुने भोटिङ ५० प्रतिशत, सामाजिक सञ्जाल २५ प्रतिशत, राष्ट्रिय खेल प्रशिक्षक १२.५ प्रतिशत र खेल पत्रकारको मत (१२.५ प्रतिशतको आधारमा चयन गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए ।
विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउने उनले बताए । यस संस्करणमा कुल १० विधामा अवार्ड वितरण गरिनेछ, जसमा वर्ष खेलाडी (पुरुष र महिला), युवा वर्ष खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड समावेश रहेको मञ्चले जनाएको छ ।
अवार्डको भोटिङका लागि आईतबारै मञ्चले खल्ती बाई आईएमईसँग सम्झैता पनि गरेको छ । यस वर्षको अवार्ड कार्यक्रम पोखरामा आगामी भदौ २९ गते आयोजना गरिने भएको छ ।