Harsamaya
मनसुन कमजोर तर जोखिम कायमै : कोशी- बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौँ - नेपालमा मनसुन कमजोर देखिए पनि जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आज एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिएको छ।

बङ्गालको खाडीबाट निरन्तर जलवाष्पयुक्त हावा प्रवेश भइरहेकाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।

मधेस, कोशी र बागमतीका तराई-पहाड, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। तराई र पहाडी भागमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी प्रदेशका केही स्थानमा पुनः भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ।

जल तथा मौसम विज्ञान महाशाखाले वर्षासँगै पहिरो, बाढी तथा सतर्कता अपनाउनुपर्ने जानकारी दिएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका नदी किनारा तथा पहाडी भूभागमा सतर्क रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update