Harsamaya

काठमाडौं - वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बहुविवाहको विषयले सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुरालाई आश्रय दिने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘सुनिता रेग्मी लैङ्गिक न्याय संवाद शृङ्खला’ कार्यक्रममा उनले बहुविवाहले व्यक्ति र परिवारलाई मात्र होइन पूरै समाज र राष्ट्रमा असर पुर्‍याउने भन्दै लैङ्गिक समानताको दृष्टिकोणले पनि स्वीकार्य नभएको बताइन् ।

उनले भनिन्, ‘महिला हिंसा अन्तर्गत पर्ने एउटा विषय बहुविवाह पनि हो । महिला हिंसाको कुरा आउँदा बहुविवाह पनि यसमा जोडिन्छ । यो लैङ्गिक समानताको दृष्टिकोणले पनि स्वीकार्य विषय होइन। बहुविवाहले व्यक्ति र परिवारलाई मात्र असर होइन पूरै समाज र राष्ट्रमा असर पुर्‍याउने भएको हुनाले यसलाई समाज विरुद्धको अपराध अथवा कसुर मानेर कानुनले व्यवस्था गरेको मानिन्छ । यसबाट सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुराले आश्रय पाउने पनि देखिन्छ ।’

यस्तै, उनले बहु विवाह भनेको महिलाले धेरै श्रीमान् र पुरुषले धेरै श्रीमती राख्न पाउने कानुन भएता पनि कानुनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राखे पहिलाको श्रीमानसँग स्वतः सम्बन्ध विच्छेद हुने तर पुरुषको हकमा त्यो लागू नहुने कानुन रहेको पनि उल्लेख गरेकी छन् ।

उनले भनिन्, ‘बहु विवाह बदरयोग्य विवाह हो । यो विवाहलाई कानुनले मान्यता दिदैँन भन्ने कुराको चेतना फैलाउनको लागि आवश्यक छ । बहु विवाह भनेको महिलाले धेरै श्रीमान् र पुरुषले धेरै श्रीमती राख्न पाउने हो तर हाम्रो कानुनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राख्छ भने उसको पहिलो पुरुषसँग स्वतः सम्बन्ध विच्छेद हुने भनिएको छ । तर पुरुषको लागि त्यस्तो थिएन ।’

बहुविवाहलाई कसुरको रूपमा लिएर यसलाई नियन्त्रण गर्नको लागि कानुनहरू आएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update