
एजेन्सी - विश्व राजनीति पछिल्लो समय गम्भीर उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। रुस–युक्रेन युद्ध, इजरायल–गाजा द्वन्द्व, इजरायल–इरान गतिरोध र भारत–पाकिस्तानबीचको सैन्य झडपले अन्तर्राष्ट्रिय वातावरणलाई जटिल बनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धले भूराजनीतिक समीकरणहरू थप जटिल बनाउँदै लगेको छ। यस्तो अवस्थामा भारतका विदेशमन्त्री एस जयशंकरको रुस भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ ।
रुसको विदेश मन्त्रालयले सोसल मिडिया प्लेटफर्म एक्समा जानकारी दिँदै भनेको छ, ‘अगस्ट २१ मा, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्नेछन्। जसमा दुई नेताले द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय ढाँचाभित्र सहयोगका प्रमुख मुद्दाहरूमा छलफल गर्नेछन्।’
भारतले रुसी तेल खरिद गरेकोमा अमेरिकाले असन्तुष्टि व्यक्त गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै भारतलाई ५० प्रतिशत कर लगाउने घोषणा गरे पछि दुई देशबीचको व्यापार तनाव बढेको छ । यसैबीच भारतले अमेरिकाको दबाबलाई बेवास्ता गर्दै रुसबाट तेल खरिद जारी राखेको छ ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि हालै रुसको भ्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रुसी राष्ट्रपतिसँग टेलिफोनमा विस्तृत छलफल गरेका थिए । दुई नेताबीच युक्रेन युद्ध र क्षेत्रीय स्थायित्वका विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री मोदीले शान्तिपूर्ण र कूटनीतिक समाधानको पक्षमा भारतको अडान दोहोर्याएका थिए।
भारतको विदेश मन्त्रालयले भर्खरै डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको सम्भावित वार्ताको स्वागत गरेको छ। यो जटिल विश्वव्यापी अवस्थाको समाधान वार्ता र कूटनीतिबाट मात्र हुनसक्छ भन्ने भारतको विश्वास रहेको जनाएको थियो । एस जयशंकरको यो भ्रमणलाई भारतको स्वतन्त्र विदेश नीति र रणनीतिक सन्तुलनलाई झल्काउने यस दिशामा एउटा बलियो कदम मानिएको छ ।