Harsamaya
चीनमा अलपत्र परेका १७३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्के
स्वदेश फर्किएकालाई स्वागत गर्दै अध्यक्ष अध्यक्ष रामहरि कार्की उपाध्यक्ष सुजित बस्नेत, महासचिव रामचन्द्र पराजुलीलगायत ।

सिन्धुपाल्चोक - चीनमा अलपत्र परेका १७३ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । तातोपानी नाका हुँदै उनीहरु स्वदेश पर्किएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । 

उनीहरूलाई संघका अध्यक्ष कार्की, उपाध्यक्ष सुजित बस्नेत, महासचिव रामचन्द्र पराजुली, सचिव आङदोर्जे शेर्पा र सुब्बा श्रेष्ठ र कोषाध्यक्ष सिद्धांत बस्नेतलगायतले तातोपानी नाकामा स्वागत गरेका थिए । नेपाल फर्किएकालाई तातोपानीमा खाना खुवाएर आज नै राजधानी पठाएको संघका अध्यक्ष कार्कीले जानकारी दिए । उनीहरूलाई काठमाडौंसम्म पुर्याउने पाँच वटा गाडीको व्यवस्था पनि संघले नै गरेको छ ।

गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि रसुवा नाका हुँदै आउजाउ ठप्प छ । केरुङ नाका बन्द भएपछि उनीहरु चीनतर्फ नै अलपत्र परेका थिए । 

जिल्ला प्रशासन कार्यालय रसुवाले दुवै देशका सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको समन्वय र पहलमा उनीहरूलाई स्वदेश फर्काइएको जनाएको छ । गत साउन ७ गते पनि २०३ नेपाली तातोपानी नाका हुँदै नेपाल पर्केका थिए । 

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update