Harsamaya
फोनिजले गर्दैछ १२ पत्रकारलाई सम्मान 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ।

काठमाडौं - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले आफ्नो २६औं स्थापना दिवसको अवसरमा मङ्गलबार १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा रहनेछन्। 

आयोजकका अनुसार तयारी करिब पूरा भइसकेको छ। फोनिज सचिवालय बैठकले निर्णय गरेअनुसार फोनिज सम्मान २०८२ बाट पूर्व अध्यक्ष गजुरधन राई (नेपाल टेलिभिजन), पूर्व उपाध्यक्ष अमरध्वज लामा (रेडियो शार्दूल) र राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामाद (झापा) सम्मानित हुनेछन्।

त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनेछन्।

फोनिज प्रवास अवार्ड २०८२ पत्रकार मच्छे गुरुङलाई प्रदान गरिनेछ। हाल अमेरिकामा बस्दै आएकी गुरुङले नेपाली भाषा र पत्रकारिताको प्रवर्धनमा सक्रिय योगदान दिएकी छन्।
फोनिज मलेसिया पुरस्कार बाट ज्ञानेन्द्र थोकर तामाङ (मकवानपुर) र सपना थामी (दोलखा) सम्मानित हुनेछन्। ज्ञानेन्द्रले मकवानपुरबाट राक्सिराङ साप्ताहिक सञ्चालन गर्दै आएका छन् भने थामी गोरखापत्र अनलाइन, काठमाडौंमा कार्यरत छन्।

त्यस्तै, फोनिज युके पुरस्कार बाट दुई जना पत्रकार र फोनिज बागमती प्रदेश पुरस्कार बाट एक जना पत्रकार पुरस्कृत हुनेछन्। सबैलाई स्थापना दिवसकै अवसरमा सम्मानित गरिने फोनिज अध्यक्ष लक्की चौधरीले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update