Harsamaya

काठमाडौं - पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले श्रावण स्नान गरेर व्रत सुरु गरेका छन् ।

श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि बटुकहरूले स्नान गरेर व्रत सुरु गरेका हुन् । 

आजकै दिन तागाधारीले आफ्नो यज्ञोपवीत फेर्ने रक्षा बन्धन बाँधने र सो यज्ञोपवीत  र रक्षा बन्धन एक वर्षसम्म राख्नुपर्ने परम्परासमेत रहेको वृद्धाश्रममा चिरञ्जीवि भट्टराईले जानकारी दिए । त्यस्तै उनले आज श्रावण स्नानहरु पूरा गरेको बताउँदै अब गायत्री जपको लागि अगाडि बढ्ने जानकारी दिए । 

उनले  भने,‘हामीले श्रावण स्नानहरु पूरा गर्यौं । अब श्रावण स्नान पूरा गरेपछि गायत्री जपको लागि अगाडि बढ्छौं । श्रावण स्नान भनेको वैदिक कर्ममा विशेष गरेर यज्ञोपवीत संस्कार भइसकेकाहरुले हरेक वर्षमा आउने श्रावणमा गरिने स्नानलाई श्रावण स्नान भनिन्छ । यसको अर्को नाम उपाकर्म पनि हो  । यो नवनिर्मित यज्ञोपवीतलाई वैदिक रुद्राभिषेक पद्धतिद्धारा मन्त्र गरेर त्यही यज्ञोपवीत एक वर्षसम्म हरेक महिनाको पूर्णिमामा यज्ञपवित परिवर्तन गर्ने रक्षा बन्धन बाँध्ने र त्यही यज्ञोपवीत र रक्षा बन्धन एक वर्षसम्म प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ ।’ 

यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्नुपर्ने पनि उनले जानकारी दिए । व्रत बसेका तागाधारीले आज बिहानै ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update