
बाजुरा - खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ।
विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।
नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ। उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन्।
हरेक असारदेखि असोज पहिलो सातासम्म नेटवर्कले काम नगर्ने गरेको स्थानीय रमेश विष्टले बताए । उनले भने,‘नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै जाँदा फोन सम्पर्क गर्न समेत गाह्रो हुने गरेको छ । फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवालगायतका नियमित कार्यमा समेत बाधा पुगेको छ । ’
बिष्टले फोन गर्दा समयमै नलाग्ने फोन लागि हालेमा राम्रोसँग कुराकानी नहुने अवस्था रहेको जानकारी दिएका छन् । सामान्य कुराकानी गर्न वा आपत्कालीन अवस्थामा समेत नेटवर्कले धोका दिने गरेको छ ।
नेटवर्क समस्याबारे पटकपटक गुनासो गर्दै आएपनि समस्या समाधान नभएको स्थानीयको भनाइ छ । त्यस्तै यता बडिमालिका नगरपालिका वडा नम्बर ७ मा पनि नेटवर्कले काम नगर्ने गरेको स्थानीयको गुनासो छ ।
वडाको जिल्ली, सुनकाना, पोखरा, सिराडी, रजातोली, ढम्कनेलगायतका बस्तीमा राम्रोसँग नेटवर्कले काम नगर्दा फोन नलाग्ने, फोन लागेपनि आवाज काटिएर सुनिने गरेको फोरजी सेवा समेत प्रभावित रहेको स्थानीयले भनाइ छ ।