Harsamaya
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ हुँदै

काठमाडौं - राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा ७ प्रदेश र काठमाडौं उपत्यकाको १ गरी ८ टिमले मङ्सिर ५ देखि ७ गतेसम्म काठमाडौंमा हुने ग्रान्ड फिनालेमा सहभागी हुने प्याब्सनका महासचिव आरबी कटुवालले जानकारी गराए ।

सबै विद्यालयलाई खुला गरिएको प्रतियोगिताको ग्रान्ड फिनालेअघि ७७ जिल्ला र ७ प्रदेशमा छनोट प्रतियोगिता हुने महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिए । जिल्ला छनोट भदौ २० गते तथा प्रदेश छनोट कात्तिक १६ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्न, प्राविधिकलगायतका कार्य आईएसएफ एकेडेमी, नेपालले गर्ने छ ।

‘शिक्षा, खेलकुद, सहभागिता र सिर्जनशीलतामा अब इतिहास बनाउने यात्रा’ नारासहित हुन लागेको प्रतियोगिताअन्तर्गत पुरुष÷महिला विजेताले स्कुटर, उपविजेताले ल्यापटप र तेस्रो हुनेले मोबाइल फोनसहित गिफ्ट ह्याम्पर पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न प्रोडक्सन खर्च बाहेक १ करोड २४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

संघीय सांसद समेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष माधव सापकोटाले प्रतियोगिताले राष्ट्रिय सम्पत्तिका रूपमा रहेका विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए ।

महासंघका अध्यक्ष विनोद श्रेष्ठले महासंघको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । महासचिव कार्कीले विद्यार्थीमा खेलकुद बारे अझ रुचि बढाउन कार्यक्रम फलदायी हुने बताए ।

भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल समेत रहेका प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले महासंघले प्याब्सनसँग सहकार्य गरी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।

नेपालयाका अध्यक्ष सुवास प्रधानले यो प्रतियोगिता इभेन्ट मात्र नभई विद्यार्थीको महोत्सव पनि भएको बताए ।

पत्रकार सम्मेलनमा महासंघ र नेपालयाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रतियोगिताको लोगो अङ्कित टिसर्ट पनि सार्वजनिक गरिएको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update