-1754410850.jpg)
नुवाकोट - अब नुवाकोटबाट नाक, कान, घाँटी (इएनटी) सम्बन्धी समस्या लिएर राजधानी धाउनुपर्ने बाध्यता हटेको छ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा, त्रिशूली अस्पतालमा आवासीय इएनटी चिकित्सकले मंगलबार देखि ओपिडि सेवा सुरु गरेसँगै काठमाडौं जाने बाध्यता हटेको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका विशेषज्ञ चिकित्सकद्वारा सेवा सुरु भएसँगै स्थानीयवासीले सहज, गुणस्तरीय र छिटो उपचार पाउने अपेक्षा गरिएको त्रिशुली अस्पताल सञ्चालक समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए । महिनामा एक दुई पटक यस्ता सेवाहरू पहिला पनि ल्याउने गरेको उनले जानकारी दिए ।
नुवाकोट, रसुवा र धादिङ जिल्लाका बिरामीकालागि यस्ता सेवाले स्वास्थ्य सेवा लिन सहज हुने बताइएको छ ।
अस्पताल प्रशासनले दैनिक ओपिडि समयअनुसार सेवा लिन सबै सर्वसाधारणलाई अनुरोध गर्दै नयाँ सेवा विस्तारलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि माग गरेको छ।