
विराटनगर - पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार बिहान हजुरबुबा–हजुरआमा बस्ने घरतर्फ हिँडेका दाजु–बहिनी त्यसैदिनदेखि सम्पर्कविहीन रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक कौशल कुमार बुढाथोकीले दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ । यद्यपि थप अनुसन्धान भइरहेको उनले बताए ।
बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयवासी लगातार खोजीमा जुटेका थिए ।
चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा उनीहरूको शव भेटिएको हो । शव फेला परेपछि यतिवेला गाउँ नै शोकमा डुबेको छ । शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए ।