
सिन्धुपाल्चोक - त्रिपुरासुन्दरी गाउँपालिका–४, लहरे अब स्याउको बगैँचाले सजिने भएको छ। दुई वर्षअघि परीक्षणको उद्देश्यले रोपिएका २२ वटा स्याउका बिरुवामध्ये १२ वटा बिरुवामा यस वर्ष स्याउ फलेपछि स्थानीयको उत्साह बढेको छ।
वडा अध्यक्ष विजय गुभाजुका अनुसार, स्याउ र किवी उत्पादनको सम्भावनालाई दृष्टिगत गर्दै लहरे क्षेत्रलाई फलफूल उत्पादनको ‘पकेट क्षेत्र’बनाउने योजना अगाडि बढाइएको छ। ‘अब लहरेलाई स्याउ र किवीको पहिचान दिने गरी योजना बनाएका छौं,’उनले भने ।
त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकाका विभिन्न वडामा माटो, मौसम र भूगोलको आधारमा फलफूल तथा अन्न उत्पादनको परीक्षण गर्दै आएको छ। यसै क्रममा लहरेमा गरिएको परीक्षण सफल भएको जनाइएको छ।
समुन्द्री सतहबाट करिब २४ सय मिटरको उचाइमा रहेको लहरेको मौसम स्याउ र किवी खेतीका लागि अनुकूल देखिएपछि स्थानीय किसानहरू पनि व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।
वडा कार्यालयका अनुसार आगामी वर्षदेखि स्याउ उत्पादन विस्तार गर्ने र कृषि क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्ने गरी योजना तयार पारिँदैछ।
स्याउले दिएको सम्भावनाको संकेतसँगै लहरे अब कृषि पर्यटनको केन्द्र बन्ने बाटोतर्फ उन्मुख भएको देखिन्छ।