Harsamaya

नेपालमा विशेष गरी पाटे बाघ पाइन्छ ।  यिनीहरू पर्सा, चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा गरी पाँच स्थानमा संरक्षित छन् । यी स्थानको वरपरको क्षेत्रमा पनि बाघ पाइन्छ । तर नेपालमा रहेका बाघहरूको संरक्षण र सुरक्षामा स्थानीय निकायदेखि सरोकारवालाहरूको सहभागितामा  मिलेर काम गरिरहेका छौँ । जसका कारण अहिले उल्लेखनीय रूपमा बाघको सङ्ख्यामा वृद्धि भइरहेको छ । २०१० मा १२१ को सङ्ख्यामा रहेको बाघ २०२२ मा आइपुग्दा ३५५ पुगेको छ । आउँदो वर्ष बाघको सर्वेक्षण गरेर थप गणना गरी अन्य विवरण निकाल्ने प्रयासमा छौँ । 

गणना विधि

बाघको गणना निकै चुनौतीपूर्ण छ । हाल क्यामरा ट्र्याप विधिबाट गणना गरिरहेका छौँ । बाघ पाउने सम्भावित बास स्थल  घना वनजंगल क्षेत्र भएकाले जंगललाई दुई वाई दुईको ग्रिडमा विभाजन गरेर काम गरिरहेका छौँ । बाघ हिँड्ने पाइलादेखि गन्धसम्मको आधारमा उपयुक्त ठाउँ पहिचान गरी एक जोडी क्यामरा दुई हप्ता भन्दा बढी समय एकै स्थानमा राखेर काम गर्ने गर्छौ । त्यस्ता क्यामराले निरन्तर र स्वचालित रूपमा बाघ आउने बित्तिकै फोटो खिच्छ । एउटा बाघको शरीरको पाटो अर्को बाघसँग नमिल्ने भएकाले सोही अनुसार गणना गरिरहेका छौँ । र बाघको शरीरको एका पट्टीको पाटो अर्को पट्टीसँग मिल्दैन । मान्छेको हातको फिङ्गर प्रिन्ट अर्को पट्टीसँग नमिलेजस्तै सोही आधारमा पहिचान गरी गणना गर्ने गरेका छौँ । हरेक चारदेखि पाँच वर्षमा बाघको सर्वेक्षण गरी तथ्याङ्क निकाल्ने गरेका छौँ । 

पर्यटनमा चासो 

नेपालमा पाइने बाघलाई संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा पहिचान गरिरहेका छौँ । बाघको सङ्ख्या दोब्बर होइन तेब्बर बनाउने लक्ष्यका साथ काम पनि गरिरहेका छौँ । बाघले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ । नेपाल भ्रमण गर्ने विदेशीहरू जति छन् खास गरी वन्यजन्तु अवलोकन गर्न आउने गरेका छन् ।

प्रकृतिसँग रमाउनको लागि नै विदेशीहरू पर्यटकको रूपमा नेपाल आउने गरेका छन् । नेपालमा आएका पर्यटनहरू मध्य ६० प्रतिशत निकुञ्ज घुम्न आउने गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसमा पनि पाटे बाघ हेर्न आउनेहरूको सङ्ख्या बढी छ । उनीहरू बाघ हेर्न पाउँदा नै खुसी छन् । त्यसैले संसारबाट लोप हुन लागेका वन्यजन्तुहरूको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो । संसारका १४ वटा मुलुकमा मात्र बाघ पाइने गरेको छ । 

विश्वका अन्य देशको तुलनामा बाघको सङ्ख्या वृद्धि हुँदै गएको छ । बाघको सङ्ख्या वृद्धि हुँदा धेरै हौसिनु पनि हुँदैन । हुन त यसका चुनौती धेरै छन् । चुनौतीको सामना गर्नका लागि पनि हाम्रो क्षमताको विकास गर्न जरुरी छ तर बाघको सङ्ख्या वृद्धिले नेपालको पहिचानलाई अभिवृद्धि गरेको छ र पर्यटकहरूको आकर्षकको रूपमा रहेको छ   ।

संरक्षणको प्रयास

बाघले आफ्नो क्षेत्राधिकार भित्र बस्छ । त्यो क्षेत्राधिकार भित्र अर्को बाघ आयो भने द्वन्द्व हुन्छ । र जसले जित्छ त्यो क्षेत्रमा उसैले राज गर्छ । बाघको स्थान भनेको एकदमै फरेस्ट एरियामा मात्र हो । वास्तवमा बाघलाई जङ्गलमा बस्दा चाहिने भनेकै आहारा हो । बाघको आहारा भनेको मृग प्रजाति नै हो । आहारा पर्याप्त बनाइदिनको लागि घाँसे मैदान सुधार गर्ने, पानीको प्रवर्द्धन गरिदिने, पानीको मुहान बनाइदिने, सरसफाइको काम गरिदिने र बाघको वासस्थानलाई  चोरी सिकारी हुनबाट बचाउनलाई सुरक्षणको लागि नियमित रूपमा गस्ती गरिरहेका छौँ । त्यसमा नेपाली सेनादेखि खटिएका सबै कर्मचारीहरूले नै गस्तीका कामहरू गर्ने गर्छन् । चोरी सिकारी भएर गैर कानुनी रूपमा विक्री वितरण हुनसक्ने सम्भावनालाई पनि निस्तेज गर्नका लागि विभिन्न समन्वयात्मक संयन्त्र निर्माण गरेका छौँ । जसमा बाहिर ओसारपसार रोक्नदेखि भित्रको सुरक्षासम्ममा नेपाल प्रहरी, नेपाली सेनालगायतका अरू सुरक्षा निकायहरू पनि आबद्ध गराइ संरक्षण गराएका छौँ । 

आयआर्जनमा जोड 

स्थानीय स्तरमा निकुञ्ज आसपास बसोबास गर्नेहरूलाई मध्यवर्ती क्षेत्रको अवधारणामा ल्याएर समूह एवं समितिमार्फत संरक्षणमा  सचेतनामूलक काम गर्दै आइरहेका छौँ । समुदायको विकासका लागि ३० देखि ५० प्रतिशत रकम चाहिँ स्थानीय समुदायको सामुदायिक विकास जनचेतनाको वृद्धि, जैविक विविधता, प्रजाति संरक्षणका गतिविधि जस्ता कार्यक्रमहरू सञ्चालन गर्न सरकारले कानुनी व्यवस्था गरेको छ ।

सोही मोडालिटिमा समुदायदेखि सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रूपमा सहयोग गरिरहेको छ । सबैले मिलेर समुदायको हितको विषयलाई लिएर काम गर्ने, आयआर्जनको विषयलाई पनि विशेष जोड दिने गरेको छ । साथै समुदायलाई वनजंगल भित्र प्रवेश गर्न नदिने कार्यक्रम पनि साथै अघि बढाएका छौँ । किनकि समुदाय जङ्गलभित्र प्रवेश गर्दा बाघसँग द्वन्द्व हुने गरेको छ ।  

गाउँमा किन पस्छ बाघ ? 

सामान्य अवस्थामा बाघ गाउँमा पस्दैन । बाघ सकभर मानव बस्ती भन्दा पर नै बस्छ । यदि जङ्गलमै हिडेको अवस्थामा, नजिकै छ भने या जम्काभेटमा पनि बाघ मान्छेसँग झम्टी हाल्दैन । उ लसक्क लस्किने, लुक्ने, धेरै गतिविधि त्यहाँ नदेखाउने स्वभावको हुन्छ । अध्ययनको आधारमा भन्नुपर्दा जति बाघ र मान्छेबिचको द्वन्द्व छ ती घटना यस्ता छन् कि घाँस काट्न जाँदा, दाउरा सङ्कलन गर्न जाँदा आक्रमणमा परेको देखिन्छ ।

धेरथोर सानो सङ्ख्यामा बाघ कहिलेकाहीँ बाहिर निस्किन्छ । त्यस्तो बेला कस्तो किसिमको बाघ बाहिर निस्कन्छ भन्ने कुरा ध्यानमा राख्न जरुरी देखिन्छ । सामान्यतः प्राकृतिक स्थलमा बाघ जो आफ्नो आवश्यकता पूरा गर्न सक्छ, उ सिकार गर्न सक्षम छ भने त्यस्तो किसिमको बाघ गाउँमा प्रवेश गर्दैन । त्यसभित्र अरू बाघ पनि हुन्छन् । तिनीहरू बिच द्वन्द्व हुन्छ र लडाई हुँदा एउटा घाइते हुन्छन् । उसलाई चोट लाग्छ र घाइते हुन्छ । घाइते भएको बाघले जङ्गलमा सिकार गर्न नसक्ने हुँदा उ गाउँमा पस्छ । र उ गाउँमा पसेपछि त्यहाँ मानिसको समीपमा आउँछ । यदि गाईबस्तु छ भने गाई बस्तुलाई आक्रमण गर्छ, या त मानिसलाई आक्रमण गर्छ । 

मान्छेलाई आक्रमण गर्नुको कारण 

खास गरी मान्छेलाई आक्रमण गर्ने बाघको स्वभाव हुँदैन । तर उसले आफ्नो सुरक्षाको लागि आक्रमण गर्छ । बाघले आफ्नो बच्चादेखि नै सिकेको हुन्छ, कस्तो किसिमको सिकार गर्ने, कसरी गर्ने भनेर । र बाघ ठूलो भएपछि मात्र माउले सिकाए अनुसारको सिकार गर्छ । बाघले कहिले पनि दुई खुट्टे मानिस तेरो सिकार हो भनेर सिकाएको हुँदैन । उसलाई चार खुट्टे मात्र सिकार गर्न सिकाएको हुन्छ  ।  यदि झुक्किएर सिकार गर्‍यो भने मात्र उसले मान्छेको सिकार गर्छ । त्यस्तो किसिमको बाघलाई नरभक्षी बाघ भन्छौँ । र नरभक्षी बाघलाई उचित व्यवस्था गर्ने गरिएको छ । बाघले एक चोटि मान्छे खाइसकेपछि पुनः दोहोरायो भने त्यो खतराको सङ्केत हो । त्यस्ता बाघलाई समातेर खोरमा हाल्ने काम गरेका छौँ । यदि बाघको बच्चा आरामसँग बसेको छ भने त्यस बेला पनि मानिससँग जम्काभेट भयो भने आक्रमण गर्छ । मानिस निहुरिरहेको अवस्थामा पनि बाघ चारखुट्टे प्राणी हो भनेर झुक्किन सक्छ ।  त्यो बेला पनि पनि बाघले आक्रमण गर्न सक्छ । बाघ जन्मिन्छ हुर्कन्छ र बुढो हुन्छ । बाघ बुढो भएपछि शारीरिक रूपमा अशक्त हुँदा सिकारका लागि दौडन सक्दैन र उ गाउँ पस्ने गर्छ ।

अध्ययनले पनि के भन्छ भने बढीमा चार प्रतिशत बाघ मात्र द्वन्द्वमा आउने गर्छ । सबै बाघ द्वन्द्वमा आउँदैन । त्यस्ता किसिमका बाघलाई क्यामरा ट्र्यापबाट पहिचान गरी उसलाई कैदगरि खोरमा राख्ने गरेका छौँ । बाघ र मान्छेबिच मात्र द्वन्द्व होइन गैँडा, हात्ती, चितुवासँग पनि द्वन्द्व हुन्छ । हाम्रो नीति, नियम, कानुन यस्तो छ कि सुकुम्वासीलाई लगेर जङ्गलमा लगेर बसोबास गर्न लगाउने, लालपुर्जा दिने गरिन्छ । यस कुरालाई व्यवस्थित बनाउन आवश्यक छ । 

बाघ दिवसको सान्दर्भिकता 

जुलाई २९ लाई संसारभर बाघ दिवस मनाउने गरिन्छ । बाघ संसारको १४ वटा देशमा पाउँछ । बाघ पाउने हिसाबले पनि नेपालले हरेक वर्ष बाघ दिवस मनाउने गरिएको छ । यस वर्षको नारा ‘सहअस्तित्व र  आय आर्जन बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने छ । पृथ्वीमा बाघलाई पनि बाँच्न पाउने अधिकार छ । मान्छेको पनि त्यत्तिकै बाँच्न पाउने अधिकार छ । सहअस्तित्व कायम गरेर दुवै समान हिसाबले बाँच्न पाउनुपर्छ भन्ने नाराले समेटेको छ ।

अर्को आयआर्जन, पर्या–पर्यटनका गतिविधिहरू जति पनि छन् बाघ पाउने ठाँउहरु वा निकुञ्जहरूमा होटेल व्यवसाय चलेको छ । जङ्गल सफारीदेखि जिप सफारी चलेको छ । बाघका कारण जति पनि पर्यटन व्यवसायहरू चलेको छ बाघको फ्लो पनि बढेको हो  । जति पनि रोजगारीका अवसरहरू छन् पर्यटन व्यवसाय बढेको छन् । त्यसको मूल जड त वन्यजन्तु नै हो । आकर्षण त वन्यजन्तु नै हो । आयआर्जनसँग अझ बढी जोड्दै, सहअस्तित्व कायम गर्दै होटेल व्यवसायीले आम्दानी वृद्धि भएको छ ।

यसो भनिरहँदा वन्यजन्तुबाट पीडित समुदायलाई पनि सहयोग गर्न जरुरी छ । यस वर्ष राष्ट्रिय स्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज भित्र गर्ने तयारी गरिएको छ । स्थानीय सरकारदेखि सरकारी निकायसम्म मिलेर एक दिने कार्यक्रम आयोजना गरेका छौँ । त्यहाँ विशेषतः बाघको अहिलेको अवस्थादेखि चुनौती अवसरलाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ । छलफलदेखि प्यानल डिस्कसन जस्ता कार्यक्रम पनि राखेका छौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ ईकोलोजिष्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँगको कुराकानीमा आधारित ।  

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update