
एजेन्सी - बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
बीबीसी बंगलाका अनुसार, बंगलादेशका प्रमुख स्वास्थ्य सल्लाहकारका विशेष सहायक सैदुर रहमानले २७ जनाको मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको बताए।
यसबाहेक ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बंगलादेश वायुसेनाको F-7 BGI प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा अवस्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनाको केही घण्टा पछि, अन्तर-सेवा जनसम्पर्क (ISPR)ले आधिकारिक विज्ञप्ति जारी गर्यो।
विज्ञप्ति अनुसार, ‘उडान उडेको केही समयपछि विमानमा प्राविधिक गडबडी भयो। अनुसन्धान पूरा भएपछि विस्तृत जानकारी साझा गरिनेछ।’
यो विमान दुर्घटनापछि बंगलादेशको अन्तरिम सरकारले एक दिनको शोकको घोषणा गरेको छ।