
काठमाडौं - सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ ।सरकार, रोजगारदाता र ट्रेड युनियनबिच चिया बगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो ।
सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महँगी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेको छ । श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो । यो पारिश्रमिक प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो भने आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो ।
नयाँ पारिश्रमिक साउन १ गतेदेखि नै लागू भएको छ । चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेर पछि निर्धारण हुनेछ । यसै गरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ रहेको छ । यसमध्ये आधारभूत ४७० र महँगी भत्ता २८४ रुपैयाँ छ ।
त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । यसमध्ये आधारभूत ६३ र महँगी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ ।