
काठमाडौं - मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ ।
पहिलो कारोबार दिन २९ अंकले बढेको बजार आज घटेको हो । बजार घटेसँगै नेप्से परिसूचक २७२५.७१ बिन्दुमा झरेर रोकिएको हो । यस दिन कुल ३२१ स्टकको आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता सेयर खरिद बिक्री भएको छ ।
अघिल्लो कारोबार दिन २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ६.८३ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५२ अंकले घटेको छ । यस दिन माइखोला हाइड्रो पावर लिमिटेड, हिमालयन पार लिमिटेड, जोशी हाइड्रो पावर र सिनर्जी पावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।
माइखोला हाइड्रो पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ५३.३१ रुपैयाँले बढेर ९५६.६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेर ३७३.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी जोशी हाइड्रो पावरको सेयर मूल्य प्रतिकित्ता १४.६८ रुपैयाँले बढेर ३४६.३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिनर्जी पावरको सेयर मूल्य १६.२८ रुपैयाँले बढेर ४११.४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१.४८ रुपैयाँले घटेर १५२९.४३ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ६७.७५ रुपैयाँले घटेर १४९२.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन एनआइसी एशिया, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट र सानीमा बैंकको सेयर सर्वाधिक कारोबार भएको छ ।