Harsamaya
एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा
राजेन्द्र पुडासैनी ।

लन्डन - एनआरएनए यूकेको अध्यक्ष पदका लागि  राजेन्द्र पुडासैनीले  उम्मेदवारी घोषणा गरेका छन् ।

पुडासैनीले सन् २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए स्थापनामा प्रमुख भूमिका निर्वाह गरेको देश बेलायतमा साथीभाइ र अग्रजहरूको सल्लाह बमोजिम आफूले उम्मेदवारी दिने निधो गरेको उनले बताए ।

एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिस गोर्खाजको समानता लडाईंमा ऐक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरूको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्दा भएको पुडासैनीले बताए ।

एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनले बताए । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसँग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर छ  । अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउँदै पुडासैनीले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे ।

आफू निर्वाचित भएमा एनआरएनए केन्द्र तथा एनसीसीहरुलाई पनि एकताबद्ध बनाउन आफूले सक्दो पहल गर्ने उनले बताए ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update