Harsamaya
आज गुरु पूर्णिमा

काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै विषयमा अत्यन्त दक्ष वा विज्ञ व्यक्तिलाई पनि गुरु भनिन्छ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।असल गुरुको प्राप्ति या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापि अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधिको अहिलेको युगमा पक्कै पनि हामीले ज्ञान प्राप्तिकालागि एकलव्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर र त्यसैलाई गुरु थापेर सिक्नुपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रूपमा औँला नै काटेर दिनुपर्ने बलिदान नै ।

विश्वस्तरका शिक्षाकालागि संस्थागत रूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेसा अनि सञ्चारका माध्यमहरूले पनि हामीलाई गुरु रुपी शिक्षा दिइरहेका छन् ।

औषधिको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म गुगल अनि युट्युब लगायत इन्टरनेटबाट सिक्ने, त्यहीँका श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरूलाई गुरु पूर्णिमाले केही फरक अनुभव दिन सक्दछ । संसार जहाँनै पुगे पनि गुरुतत्वले स्वरूप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट बर्सिँदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरू सबै जना गुरु हुन्, गुरुतत्व हुन् ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update