Harsamaya
राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति  खतिवडामाथि राजीनामाको दबाब
राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति रामहरि खतिवडा ।

काठमाडौं - संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडका विषयमा विवाद चर्किएको छ । प्रतिपक्ष मात्र नभई सत्तापक्षकै सांसदहरूले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द थपिएकाप्रति असन्तुष्टि जनाएका छन् । 

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा ऐनमा ‘कुलिङ पिरियड’को व्यवस्थाका विषयमा गरिएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने अडान राखेका छन् ।

त्यस्तै, एमालेका नेता पदम गिरीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भीर षडयन्त्र भएको भन्दै संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने बताए ।

कुलिङ पिरियडमा किर्ते भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति रामहरि खतिवडाको राजीनामाको माग समेत चर्किएको छ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरबाही समिति सभापतिको सहयोगविना नहुने भन्दै राजीनामा दिनुपर्ने बताए ।

कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानुनमै व्यवस्था गर्न संसद्को राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर, समिति सभापति खतिवडाको प्रत्यक्ष संलग्नताको वरिष्ठ प्रशासकहरूका स्वार्थलाई संघीय निजामती सेवा विधेयकमा घुसाएर प्रतिनिधिसभाबाट पारित गरिएको भन्दै विरोध सुरु भएको हो ।

यता, खतिवडाले विधेयकमा समावेश कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ मागेपछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी दिने बताएका हुन् ।

 

 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update