काठमाडौं - खेलकुद तथा युवा मन्त्री तेजुलाल चौधरीले नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौं युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने धारणा राखे ।
उनले भने,‘नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ । धितो राखेर कर्जा लिने व्यवस्था गर्नुपर्छ । युवाहरूलाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’
त्यस्तै उनले युवाहरू किन निरुत्साहित छन् भन्ने विषयमा बहस आवश्यक रहेको बताए । सरकारको हालै ल्याएको बजेटमा युवा उद्यमशीलता र सीप विकासमा मुख्य जोड दिएको उनको दाबी छ ।
‘किन युवाहरू उत्साहित हुन सकिरहनु भएको छैन भन्ने विषयमा पक्कै पनि यस सम्मेलनमा भव्य छलफल हुनेछ । र अर्को कोणबाट प्रतिकुलतामा नै अनुकूलता खोज्ने र चुनौतीलाई सफलताको रूपमा लिन सक्नुपर्छ । नेपाल सरकारको हालै ल्याएको बजेटमा पनि युवा उद्यमशीलता र सिप विकासमा मुख्य जोड दिएको छ ।’