
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणले धेरैको ध्यान तानेको छ। एक सादा छवि भएका गभर्नर पौडेलको नाममा मात्रै होइन श्रीमतीको नाममा समेत अर्बौं बराबरका सम्पत्ति विवरण सार्वजनिक भएका छन्।
उनको विवरणअनुसार गभर्नर दम्पतीसँग ४४ तोला सुनका गहना छन् भने १५ लाख रुपैयाँ बराबरका हिरा जडित गहना छन्।
ललितपुरको भैंसेपाटीस्थित ५ आना २ दामको जग्गामा निर्मित घर १ करोड ५५ लाखमा खरिद गरिएको जनाइएको छ। जुन श्रीमती प्रतिभा शर्माको नाममा छ। यस्तै नवलपरासीको गैंडाकोटमा ६० लाख मूल्यको अर्को घरजग्गा रहेको उल्लेख छ। दुवै सम्पत्ति पैत्रिक र स्वआर्जनबाट खरिद गरिएको हो।
श्रीमती शर्माको नाममा रहेको ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार पनि सम्पत्ति विवरणमा समावेश छ।
गभर्नर पौडेलको नाममा सानिमा बैंकको खातामा १३ लाख २३ हजार, नेपाल इन्भेष्टमेन्ट मेगामा २ लाख ५९ हजार रुपैयाँ रहेको छ।
श्रीमतीको नाममा सानिमा बैंकमा १२ हजार ५४७, प्रभु बैंकमा ४ लाख ७३ हजार ८२२ रुपैयाँ रहेको जनाइएको छ।
सबैभन्दा चासोको कुरा के भने, गभर्नर दम्पतीको नाममा सानिमा बैंकमा अमेरिकी डलर खाता पनि छ पौडेलको खातामा ६६.७८ डलर, र श्रीमतीको खातामा ४४५० डलरभन्दा बढी विदेशी मुद्रा छ।
उनको ग्लोबल, अर्घाखाँची सिमेन्ट र हुन्डाईमा लगानी रहेको समेत उल्लेख छ।
गभर्नर पदमा रहेका व्यक्तिको यस्तो विस्तृत र पारदर्शी सम्पत्ति विवरणले सार्वजनिक पदाधिकारीको उत्तरदायित्व र विश्वासको नयाँ मापदण्ड तय गर्ने संकेत देखिएको छ।