काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन् ।
सदन बहिष्कारपछि पत्रकारहरूसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्ने उनको प्रश्न थियो । उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायिक समितिको माग जारी रहने जिकिर गरिन् ।
उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र ? अन्य देशहरूमा दासको रूपमा नेपालीहरू कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो । त्यस्तो ठाउँमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गरौं भन्दा गरिएन । कतिसम्म गिरेको नेपाल सरकार । ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन ? हाम्रो अडान जारी रहने छ ।’
उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्ता गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन् ।