Harsamaya
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे।

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।

७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताए  ।

उनले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिए । उक्त ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको उनले बताए ।

मन्त्री पाण्डेले सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान ‘माउन्ट एभरेष्ट’ को रूपमा भए पनि नेपालको सन्दर्भमा सगरमाथा भन्ने नाममै यसको मार्केटिङ गर्नुपर्ने धारणा राखेका थिए ।

उनले भारत र चीनबाट मात्र उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई दृष्टिगत गर्दै सरकार यस दिशामा योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए ।

कार्यक्रममा सगरमाथा दिवसको सफल आयोजना गर्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ठमेल पर्यटन विकास परिषद्, सगरमाथा आरोही संघ र हनुमानढोका दरबार संग्रहालय विकास समितिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update