Harsamaya

जनकपुर - धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । 

आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाममा सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासीता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए ।

पत्रकार सम्मेलनमा जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले सरकारले विलासीता करको नाममा दुई प्रतिशत बढाउँदा उपभोक्ता समक्ष ६ प्रतिशत पुग्न जाने बताए ।

उनले यसो भयो भने भारतमा सुनको मुल्य सस्तो पर्ने र सोही कारणले सुन खरिद गर्नेहरु भारतीय बजार जान बाध्य हुने जानकारी दिए ।सरकारले कर नहटाए सम्पूर्ण सुनचाँदी व्यापारीले पसल बन्द गरेर पलायन हुने स्थिति सृजना हुने अध्यक्ष ठाकुरले बताए ।

यसबाट लाखौँ कालीगढ र सुनचाँदी व्यवसायमा आबद्ध व्यक्तिहरू बेरोजगारीको शिकार हुने उनको भनाई छ ।

उनले सरकारलाई विलासीता कर हटाउन माग गर्नुका साथै केन्द्रीय संघको निर्णय अनुसार आफूहरूले थप आन्दोनका कार्यक्रमहरू सशक्त बनाउँदै जाने चेतावनी समेत दिए । व्यवसायीहरूले काठमाडौं लगायत देशभरका सहरहरूमा आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update