Harsamaya

काठमाडौं - विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास, विस्तार गर्ने काम दोस्रो कार्यकालको प्राथमिकतामा रहेको बताएका छन् । 

सोमबार आफ्नो पदभार ग्रहण गर्दै उनले अहिले मुख्य चुनौती विज्ञापन बजारको घट्दो क्रम रहेको भन्दै सबै सरोकारवालाहरूको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने काम प्राथमिकतामा रहेको बताए । 

उनले भने, ‘अहिले मुख्य चुनौतीको रूपमा रहेको विज्ञापन बजारको घट्दो क्रम हो । यो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तार गर्ने जसले आम सञ्चार माध्यमहरूको लागि भर गर्न सकुन । यो अहिलेको लागि सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । यसमा सबै सरोकारवालाहरूको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने र खासगरी विज्ञापनदाताहरूलाई आत्म विश्वासिलो बनाउने र सामाजिक सञ्जालमा भइरहेको प्रवाहलाई विस्तारै मुख्य मिडियामा ल्याउने लगायतका कामहरू हामीले गर्नुपर्नेछ । त्यो कामका लागि मेरो दोस्रो कार्यकालको प्राथमिकताको क्षेत्र हुन्छ ।’

यस्तै, उनले जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गरेर विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्ने काममा पनि लाग्ने बताए । 

उनले भने, ‘विज्ञापनको नियमनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सहभागिता आवश्यक हुन्छ त्यो काम हामीले अगाडि बढाउनु पर्नेछ र त्यसका लागि पनि नमुना कानुनहरू बनायौं । विज्ञापनको परीक्षणको काम सुरु गर्यौ र हामीले सुरु गरेको तर कार्यान्वयन हुन नसकेको राष्ट्रिय विज्ञापन नीति हो । जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गर्छौ । त्यसपछि विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्छौ ।’

पहिलो कार्यकालमा नीति नियमहरू बनाउने, आचारसंहिता निर्माण, विज्ञापन नियमावली संशोधन र विज्ञापन बजारलाई पारदर्शी बनाउने काम गरेको पनि उनले सुनाए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update