Harsamaya
आज चार संसदीय समितिका बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं - आज चार वटा संसदीय समितिका बैठक बस्दै छन् । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् । यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैकसँग छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ। यस बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुने कार्यसूची रहेको छ ।

बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्नेछ । यस बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update