
काठमाडौं - २०५८ सालको जेठ १९ गते शुक्रबारको साँझ नेपाली इतिहासमा कहिल्यै नमेटिने एक डरलाग्दो कालो पानामा बदलिएको थियो। नारायणहिटी दरबारभित्र भएको दरबार हत्याकाण्डले तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश नै विनाश गरिदियो। शाही भोजको दिन पारेर भएको त्यो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुति, अधिराजकुमार धीरेन्द्र, राजकुमारी शारदा, शान्ति, जयन्ती र कुमार खड्ग विक्रम शाहको हत्या भयो।
हत्या पनि दरबारभित्र, त्यो पनि राजपरिवारकै सदस्यद्वारा? छानबिन प्रतिवेदनअनुसार तत्कालीन युवराज दीपेन्द्रले पारिवारिक जमघटको बीचमा सैन्य पोशाकमा आएर दुईवटा बन्दुकबाट गोली चलाएका थिए। आफ्नै बाबुआमा, दाजुबहिनी र आफन्तहरूलाई उडाएपछि उनले आफूलाई गोली हानेको भनाइ छ। तर आम नेपाली नागरिक भने यो कथनलाई स्विकार्न कहिल्यै सक्दैनन्।
घटना अत्यन्त उच्च सुरक्षा घेराभित्र भएको, कुनै स्पष्ट भिडियो रेकर्ड वा निष्पक्ष प्रमाण नपाइनु, अनि शाही परिवारमा यति ठूलो संहार हुँदा पनि रहस्य अझै नखुल्नुले यो काण्ड अझै षड्यन्त्रको गर्भमै छ भन्ने आम धारणा बनाएको छ। हत्या भएको ७ वर्षपछि २०६५ साल जेठ १५ मा नेपाल गणतान्त्रिक मुलुक घोषित भयो। तत्कालीन राजा ज्ञानेन्द्र शाह देशका अन्तिम राजा बने।
राजा वीरेन्द्रजस्तो उदार छविका शासकको निधनपछि राजतन्त्र जनविश्वास गुमाउँदै गयो। ज्ञानेन्द्रले सत्तामा प्रत्यक्ष हस्तक्षेप गरेपछि २०६२/६३ को दोस्रो जनआन्दोलन चर्कियो र नेपालको इतिहासले नयाँ मोड लियो। दरबार हत्याकाण्डपछि प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिले युवराज दीपेन्द्रलाई नै दोषी ठहर गऱ्यो। सभामुख तारानाथ रानाभाटद्वारा सार्वजनिक गरिएको त्यो प्रतिवेदनले सत्ताले छिटो निर्णयमा पुग्न खोजेको देखियो।
तर, नेपाली जनताको मनले त्यो निष्कर्षलाई कहिल्यै पूर्णतः स्वीकार गरेन। न त त्यो छानबिनमा शाही सुरक्षाकर्मीहरू, न दरबारभित्रको विद्युतीय निगरानी प्रणालीको डाटा, न अन्य मूल्यांकन—यस्तो अपूर्ण छानबिनले केवल रहस्यलाई अझै बाक्लो धुवाँमा परिणत गरिदियो।
वर्षौंसम्म रहस्यको गर्भमा रहेको यो विषय एकपटक पुनः उठेको थियो । जब गणतन्त्रपछि प्रचण्ड नेतृत्वको सरकारले बागडोर सम्हाल्यो। गृहमन्त्री बनेका विमलेन्द्र निधिले यो घटनाको पुनः छानबिनको प्रस्ताव गरे, तर त्यो केवल समाचारमा सीमित रह्यो।
२४ वर्ष बितिसक्दा पनि नेपाली जनमानसको मनमा एउटै प्रश्न अझै बल्झिरहेको छ । "साँचो दोषी को?" नारायणहिटी दरबारको त्यो जेठ १९ को रूत एकैपटक केवल राजपरिवारको नाश थिएन, त्यो रात एक युगको अन्त्य थियो। गणतन्त्र आए पनि त्यो गहिरो घाउ अझै बोकेको छ नेपालले । यतिबेला इतिहासकार, राजनीतिक विश्लेषक र आम जनताले फेरि एकपटक स्वतन्त्र र पारदर्शी छानबिनको आवश्यकता महसुस गरिरहेका छन् । किनभने राष्ट्रको इतिहासमा यति ठूलो रातको सत्य उजागर हुनु आवश्यक छ।