
पोखरा - पोखरामा जारी कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा आएको आयोजकले दाबी गरेका छन् ।
कोटीहोममा हालसम्म १७ लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले भने, ‘शनिबार बिदाको दिन परेको र राधिका दासीको प्रवचन सुन्न पनि भक्तजन ओइरिए, यातायात बन्दले कुनै प्रभाव पारेन ।’
आइतबारदेखि कोटीहोमको व्यानर गाडीमा टाँसेर आएमा कुनै अवरोध नहुने आयोजकले जनाएको छ । शनिबारदेखि प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले संसारको सबै तीर्थ पोखरामा भएको बताइन् ।
उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको जिकिर छ । उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिँड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भनेकी थिइन् ।
कोटीहोममा शनिबार भारत उत्तर प्रदेश गोरखपुर नगर निगमका महापाल डा.मंगलेश कुमार श्रीवास्तवसमेत सहभागी भए । उनले कोटीहोमको व्यवस्थापन निकै सुन्दर रहेको बताए । सनातन धर्मको निकै ठूलो महत्व रहेको भन्दै उनले जसले श्रीमद् भागवत सुन्छ उसका सबै पाप नाश हुने बताए ।
साथै नेपाली कांग्र्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, संघीय सांसद दामोदर बैरागी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, वरिष्ठ अधिवक्ता राजु बस्नेत, पर्वतारोही माया गुरुङ पनि सहभागी थिए ।