Harsamaya
‘ढल प्रणाली विकास’ र ‘पानीको निकास’का योजना पहिलो प्राथमिकतामा राख्न माग
‘ढल प्रणाली विकास’ र ‘पानीको निकास’का योजना पहिलो प्राथमिकतामा राख्न वडाबासीको माग ।

काठमाडौं - त्रिपुरेश्वर, भोटेवहाल, थापाथली, सुनधारा, बबरमहललगायत काठमाडौं महानगरपालिका वडा नम्बर ११ का सबैजसो ठाउँमा ढल निकास प्रणाली निर्माण गरेर पानीको निकास दिने कामलाई प्राथमिकतामा राख्नु पर्ने वडावासीले माग गरेका छन् ।ढलको आकार बढाउनु पर्ने, सफा गरेर पानीको निकास निर्बाध बनाउनु पर्ने माग राख्दै उनीहरूले बाढीजन्य विपदबाट आफूहरूलाई डर लागि रहेको बताएका हुन्  ।

बिहीबार वडाले आयोजना गरेको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाको सार्वजनिक सुनुवाइ र आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमाका कार्यक्रममा सहभागी स्थानीयवासीले गएको वर्षको बाढीले पुर्‍याएको क्षति, मेलम्ची खानेपानीको पाइप लाइन फुट्दा उत्पन्न त्रास र यस वर्ष औसतभन्दा माथि वर्षा हुने पूर्वानुमानका विषयमा कुरा गर्दै पानीको सहज निकास आवश्यक रहेको बताए ।

कार्यक्रममा २२ जनाले वडाका कामको समीक्षा गर्दै आफ्ना अपेक्षा राखेका थिए । सहभागीहरू स्थानीय टोल सुधार समिति, उपभोक्ता समिति, क्लब, व्यवसायी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा वडा बासी थिए ।

सहभागीको प्रश्नको जवाफमा वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले स्थानीयको मागलाई विश्लेषण गरेपछि देखिने चित्रलाई कार्यान्वयन गरिरहेको बताए ।

 

उनले भने,‘धेरै जनाको मत जे मा छ, हामी त्यही गरिरहेका छौँ । हाम्रो क्षेत्राधिकारभित्र नपर्ने गुनासा आउँछन् । ती गुनासा लिएर जसको क्षेत्रमा पर्छ । उसलाई भनेर समाधान गरिरहेका छौँ ।’ कार्यान्वयन योग्य योजनामा ढल निकासलाई उदाहरण बनाएर तण्डुकारले भने, ‘ढल निकासको समस्या छ भने त्यो समस्या लिएर एक्लै वडामा नआउनु । छिमेकीसँग सल्लाह गरेर सबैको एउटै मत बनाएर आउनु । अनि मात्र कार्यान्वयन गर्न सकिन्छ । नत्र एउटाले माग्ने अर्कोले रोक्ने हुन थाल्छ । यसरी नतिजा निकाल्न सकिँदैन ।’

महानगरपालिका स्थापनाको सिद्धान्तबमोजिम अधिकार प्रक्षेपण नगरिएका कारण महानगरपालिकाले आफ्नो क्षमताअनुसारको नतिजाका लागि काम गर्न नपाएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update