Harsamaya
गणतन्त्र कसरी आयो ?

काठमाडौं - आज १८औँ गणतन्त्र दिवस । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र आएको दिन । दोस्रो जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। योसँगै २३८ वर्ष लामो शाह वंशीय राज परम्पराको अन्त्य भएको थियो । यही दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।

२०५२ साल देखिनै २०४७ सालको संविधानबाट देशमा परिवर्तन नहुने भन्दै माओवादी भूमिगत सशस्त्र आन्दोलनमा थियो । २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा वीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरबारमा हत्या भएको थियो। त्यसपछि उनका माहिला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसेका थिए। सोही साल देशमा सङ्कटकालीन अवस्था लागू गरिएको थियो। तर न त माओवादी जनयुद्ध रोकियो न  दलहरूबीच नै सहमति बन्न सक्यो। फलतः राजाले निर्वाचित संसद् भङ्ग गरेर सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए।

विना संसद्को देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रिमण्डल गठन गरेका थिए। त्यसपछि देशभरका टेलिफोन तथा मोबाइलहरूका प्रसारण लाइन काटिएको थियो। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यमहरूमा नियन्त्रण गरिएको थियो। सञ्चार संस्थाहरू तत्कालीन सेनाको कब्जामा थिए । दलका नेताहरूलाई धमाधम समाएर बेपत्ता (आफन्तलाई समेत थाहा नदिने कहाँ छ भन्ने) बनाइन्थ्यो । मौलिक हकमा समेत प्रतिबन्ध लागेको थियो। राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र मात्र नभएर विश्वव्यापी रूपमा विरोध भएको थियो।

राजनीतिक दलहरू आन्दोलनमा उत्रिएका थिए। विभिन्न राजनीतिक दलहरूको गठबन्धनले राजाको कदम विरुद्ध आन्दोलन गरिरह्यो। तर लामो समय सम्म पनि यसले कुनै परिवर्तन ल्याउन सकेन। यसै क्रममा सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनीतिक पार्टीहरूबिच २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँ दिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि अन्य राजनीतिक दलसँगै माओवादीले पनि हतियार बिसाई जनआन्दोलनमा सहभागी भयो। सबै मिलेर आन्दोलन भयो । सुरक्षाकर्मीको व्यापक दमनका बाबजुद मानव सागर सडकमा उत्रियो।

राजाले वैशाख ८ गते  जनताको नासो जनतामा नै फिर्ता गरेको घोषणा गरे। तर आन्दोलन मत्थर भएन । अन्ततः वैशाख ११ गते राजा ज्ञानेन्द्रको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद् पुनर्स्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो। राजा ज्ञानेन्द्रले कायम गरेको प्रत्यक्ष शासन विरुद्ध नेपालमा २०६२ चैत २२ देखि २०६३ वैशाख ११ सम्म नेपाली जनताको व्यापक सहभागितामा जनआन्दोलन २ भएको थियो।

उक्त शान्तीपूर्ण आन्दोलनका क्रममा २० जनाले शहादत पाएका थिए । झापामा राजन गिरी र सुरज विश्वास मारिदा अरू दुई जना मारिएका थिए। ती अज्ञातबाहेक शाही सरकारको विरोधका क्रममा त्यसअघि मारिएकालाई समेत राखी जनआन्दोलन २ का कूल सहिद २५ भएको सरकारले बताएको छ। ज्युँदो शहीद, जनआदोलन २ का घाइते मुकेश कायस्थको २०८० वैशाख २७ गते निधन भएको छ । २०६२/६३ को जनआन्दोलनका ‘ ज्युँदो शहीद’ कायस्थको ३१ वर्षको उमेरमा निधन भएको हो । २०६२/६३ को १९ दिने जनआन्दोलनको क्रममा चैत २७ गते काभ्रेको बनेपामा निकालिएको जुलुसमा सहभागी भएका मुकेशलाई प्रहरीले चलाएको गोली कन्चटमा लागेको थियो । मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए । मुकेश गोली लाग्दा १४ वर्षका थिए । उनी ओछ्यानबाट उठ्न नसक्ने गरी अपाङ्ग भएका थिए । अन्ततः १७ वर्षपछि उनको निधन भयो ।

आन्दोलनरत माओवादी र सरकारबिच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । नेपालको अन्तरिम संविधान २०६३ निर्माण भएपछि माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसद्को निर्माण भयो। माओवादीसमेत सम्मिलित संयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो। वि. सं.२०६५, जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रूपमा घोषणा गरेको थियो।

त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिएका थिए। त्यसपछि विद्यादेवी भण्डारी राष्ट्रपति बनिन् । अहिले रामचन्द्र पौडेल राष्ट्रपति छन् । देशमा गणतन्त्र आएको १७ वर्ष भए पनि जनताको अवस्था परिवर्तन हुन सकेका छैनन् ।

देशमा भ्रष्टाचार, अनियमितता, मानव तस्करको लुट धन्दा मच्चिएको छ । राजा ल्याउने भन्दै राप्रपा, राप्रपा नेपाललगायत दलहरू आन्दोलनमा होमिएका छन् । जनतामा छाएको चरम निराशा तोड्न सरकारले केही गर्न सकेको छैन । बेरोजगारीको अवस्थाले देश छाडेर जानेको लर्को छ । यो सबै गणतन्त्र आएको कारणले भएको हैन । गणतन्त्रमा शासन गर्ने खराब नेताहरूको हातमा देशको बागडोर जाँदा यस्तो अवस्था आएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update