Harsamaya
हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे ।

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले  हिमालको संरक्षण सबैको साझा कर्तव्य भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एभरेष्ट समिटियर सम्मेलनको अवसरमा उनले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।’ 
 
उनले शेप समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरेका छन् । उनले भने, ‘उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ ।’

यस्तै, उनले सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको बताए । 

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको पनि उनको भनाइ छ । उनले भने, ‘अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ ।’ उनले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update