Harsamaya

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढि रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा भएको पार्टी समायोजन कार्यक्रममा उनले आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जाने भन्दै कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढङ्गले अगाडि बढि रहेको बताए । 

उनले भने, ‘हामी गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढि रहेका छौ । योभन्दा अगाडि पनि हामीले ०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौ पार्टी विभाजित भयो, त्यसले नेपाली श्रमजीवि वर्गको लागि ठूलो क्षति भयो । महान सहिदहरुको सपना तरङ्गित भए तर संविधान घोषणा भएपछि एकताको प्रक्रिया सुरु भयो । आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुविकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जानेछ ।’

यस्तै, उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए  ।

सोही क्रममा नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठले हिजो पार्टीबाट अलग हुनु, पार्टीबाट बाहिरिनु गल्ती भएको भन्दै पार्टी एकताको लागि पहलको सुरुवात गरेको बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update