Harsamaya
महिला सशक्तीकरणको क्षेत्रमा नेपालले ठूलो प्रगति हासिल गरेको छ : सचिव अर्याल 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तीकरणको क्षेत्रमा ठूलो प्रगति भएको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगति गरेको र त्यसमध्ये लैङ्गिक समानता, महिला सशक्तीकरण र सूचना प्रविधिको क्षेत्रमा रूपान्तरण भएको बताइन् । 

उनले भनिन्, ‘पछिल्लो तीन दशकमा नेपालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबमा लैङ्गिक समानता र महिला सशक्तीकरणको क्षेत्रमा ठूलो प्रगति हासिल गरेको छ । वर्तमान समयमा पनि नेपालले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा प्रमुख रूपान्तरणहरू हासिल गरेको छ । साथै नेपाली महिलाहरू पनि अगाडि बढ्दै गएका छन् । तर अझैपनि चुनौतीहरूको सामना गर्नुपरेको छ ।’
यस्तै, उनले धेरैभन्दा धेरै महिलाहरूलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक रहेको भन्दै यसबारे नीति बनाएर अगाडि बढ्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘धेरैभन्दा धेरै महिलाहरूलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक छ । यसबारे नीति बनाएर अगाडि बढ्नुपर्छ । महिलाहरूको विचार, सिर्जनात्मकता, रचनात्मकता र आवाज भविष्यका लागि आवश्यक छ ।’

पुरुष र महिला दुवैको काम, नेतृत्व, योगदान उद्योग र नव प्रवर्तनमा अत्यन्त आवश्यक भएको पनि उनको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update