Harsamaya
धनुषामा विकासको लापरवाही : खाल्डोमा डुबेर दुई बालकको ज्यान
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धनुषा - बाटो निर्माणको क्रममा लापरवाहीपूर्वक छाडिएको खाल्डोले दुई निर्दोष बालकको ज्यान लिएको छ। कमला नगरपालिका–२, सराबेमा सडक बनाउने क्रममा खनिएको खाल्डोमा पानी जम्दा त्यसमा डुबेर दुई दाजुभाइको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा ऋतिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा ऋतिश साह रहेका छन्। दुवै बालक मङ्गलबार दिउँसो खेल्दैगर्दा सो खाल्डोतर्फ पुगेका थिए। त्यही पानीमा नुहाउने क्रममा उनीहरू डुबेका थिए।

घरबाट अबेरसम्म नफर्केपछि परिवारले खोजी गर्दा दिउँसो सवा तीन बजे बालकहरू खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए। घटनास्थल घरबाट करिब ५० मिटर टाढा रहेको थियो।

धनुषा प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहका अनुसार ती बालकहरू त्यसअघि पनि सोही खाल्डोमा नुहाउन गएका थिए। दुर्भाग्यवश, यसपटक त्यो खेल अन्तिम खेल सावित भयो।

स्थानियवासीहरू बाटो निर्माणमा संलग्न निकाय तथा ठेकेदारको चरम लापरवाहीले ज्यान गएको भन्दै आक्रोशित छन्। उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

दुवै परिवार अहिले गहिरो शोकमा डुबेका छन्। ऋतिशका बुबा श्यामबाबु र दाजु रामबाबु भारतमा रोजगारीमा छन्, घरमा आमाबाबु र श्रीमती मात्रै थिए।

शवहरू पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। बालबालिकाको सुरक्षामा ख्याल नगरी गरिएको विकास निर्माणमाथि अहिले प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update