
अमेरिका - अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको छ ।
बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ । हामी जोको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौँ ।’
बाइडेनको उपराष्ट्रपति रहेकी कमला ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन् । ह्यारिसले भनिन्, ‘जो एक योद्धा हुन् र मलाई थाहा छ कि उनले आफ्नो जीवन र नेतृत्वमा देखाएको त्यही बल, सहनशीलता र आशासँग यो चुनौतीलाई सामना गर्नेछन् ।’
बाइडेनलाई क्यान्सर भएको खबर पूर्वराष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएको लगभग एक वर्ष पछि आएको हो । उनी अमेरिकी इतिहासमा सबैभन्दा अधिक उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन् ।