Harsamaya
बागमती नगरपालिकाका तत्कालीन मेयरसहित ८ जनाविरूद्ध  भ्रष्टाचार  मुद्दा दायर,   ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
अखितयार दुरुपयोय अनुसनधान आयोग ।

काठमाण्डौं - अखितयार दुरुपयोय अनुसनधान आयोगले सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापा सहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादव, तत्कालीन उपप्रमुख लिला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने , सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल र  मधेश प्रदेश सरकारका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गराएको कसुरमा मुद्दा दायर गरेको हो ।

अर्थ मन्त्रालयको अनुदानमा नगरपालिकाको ४ र १२ नम्बर वडामा बागमती माछा पोखरी निर्माणको निर्णय स्वीकृत गर्दा मिलेमतोमा ५६ करोड ७१ लाख भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।

आयोगले बाग्मती नगरपालिका सर्लाहीका तत्कालीन नगर प्रमुख थापा, तत्कालीन उपप्रमुख लीला कुमारी मोक्तान र तत्कालीन प्रशासकीय अधिकृत पोखरेलसँग ५६ करोड ७१ लाख ७ हजार २ सय ९२ रुपैयाँ बिगो माग दाबी गरेको छ । यस्तै मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादव र तत्कालीन कानुन अधिकृत भुजेलसँग लाई २९ करोड ९९ लाख ८६ हजार १ सय ३५ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

यस्तै बागमती नगरपालिका सर्लाहीको  तत्कालीन इन्जिनियर लामिछानेसँग १० करोड १४ लाख ९५ हजार , र सोही नगरपालिकाका अर्का तत्कालीन इन्जिनियर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २ सय ९२ रुपैयाँ बिगा माग दाबी गरेको छ । यसै गरी सोही नगरपालिकाका तत्कालीन लेखा अधिकृत पोखरेल सँग ५६ करोड ३ लाख ३४ हजार ४सय ४ बिगो माग दाबी गरेको छ । 

तत्कालीन  मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी यो भ्रष्टाचारको चौथो मुद्दा दायर गरिएको हो । आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा बिहीबार सर्लाही जिल्ला अदालतमा पुनः तेस्रो मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update