Harsamaya
‘के घर के डेराः घर नम्बर २’देशभर प्रदर्शनमा 
‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा ।

काठमाडौं - दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । 

सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबीचको सम्बन्ध र आम नागरिकको जीवन कथालाई  सजीव ढंगले उजागर गर्न खोजेको छ ।

निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् । 

फिल्म रिलिजको पूर्व सन्ध्या अर्थात् बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा फिल्मको विशेष प्रिमियर शो आयोजना गरिएको थियो । 

प्रिमियरमा निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी र्‘यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो । निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो । 

सेलिब्रिटी अथवा आफन्तहरूले प्रायः सकारात्मक प्रतिक्रिया दिने भएकाले दर्शकको  इमानदार भावना जान्नको लागि सर्वसाधारणलाई सहभागी गराएको निर्देशक खनालले बताए । प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update