काठमाडौं - परिवार भन्ने बित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरूको समूह भन्ने बुझिन्छ। तर नेपालमा क्रमशःबढ्दो आधुनिकता अनि विकास क्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरू घट्दै गएका छन् ।
अहिले परिवारका मूल व्यक्तिहरू जिविकोपार्जनका लागि विदेश जाने क्रम बढेपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकता अनि समानतामा कमी देखिएको छ ।
यसै सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एंव प्रवक्ता ढुण्डीराज लामिछानेले परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकी प्रक्रियाहरूको ज्ञान बढाउनअन्तर्राष्ट्रिय परिवार दिवस मनाउने गरेको प्रष्ट पारे ।
उनले भने, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्र सँगपनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो ।समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ।’
उनले विकासका क्रममा स्वतन्त्रताको खोजी गर्दै एकल परिवारको परिवेश बन्दै गएको बताए । उनले अहिले एकल परिवार ५०–६० प्रतिशत रहेको र संयुक्त परिवार ४०–४५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताए ।
उनले भने, ‘युवा पुस्ताहरू विदेश जाने प्रवृत्तिले पनि संयुक्त परिवारको अवधारणा घट्दै गइरहेको अवस्था छ । यसको साथै, विकास हुने क्रममा स्वतन्त्रताको खोजी गर्दै पनि एकल परिवारको परिवेश बन्दै गएको हो । आन्तरिक बसाइसराइले पनि यसमा प्रभाव पार्ने गरेको देखिन्छ । अहिले एकल परिवार ५०, ६० प्रतिशतमा छन् भने संयुक्त परिवार ४०, ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।’
परिवारलाई हिमाल,पहाड र तराई जस्ता विविधताका कारणपनि असर पर्ने भन्दै तराइका भेगहरूमा भने केही मात्रामा अझैपनि संयुक्त परिवार रहेको र पहाडमा भने कम नै रहेको उनको भनाइ छ । उनका अनुसार तराइमा बसोबास गर्ने मानिसहरू एक मत, एक भेद भएर बसेका छन् ।
यस्तै, तराइमा दलित, मधेशी र मुस्लिमको धेरै परिवार रहेको भन्दै बाहुन, क्षेत्री र नेवारहरूको परिवारको संख्य अलि कम रहेको पनि उनले जानकारी दिए ।
‘यस्तो परिस्थिति बन्दै गएकाले परिवारको सुधार गर्नुपर्ने, जनसंख्या नीतिहरूमा सुधार गर्नुपर्ने र परिवारको विभाजन हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने अवस्था छ । त्यसैले भएका नीति सहि तरिकाले कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण छ,’उनले भने ।
उनकाअनुसार विकासले नयाँ कुराहरू सिकाउँदै जाने र पूराना कुराहरु छुटाउँदै लैजाने काम गर्छ तर कतिपय देशहरूले भने पूराना कुराहरू समेटेर विकास तर्फपनि लैजाने गरेको पाइन्छ । विकासको क्रम सँगसँगै संस्कृतिलाई पनि समेटेर लैजाने हो भने समाज उत्कृष्ट समाज बन्न सक्ने उनको बुझाइ छ ।
उनले धर्म संस्कृतिलाई अझै बढी प्रयोग गर्ने र एक अर्काको धर्म संस्कृतिलाई जोगाएर लैजाने हो भने पछिल्लो पुस्ताले पनि धर्म संस्कृतिलाई स्विकारेर अगाडि बढ्न सक्ने बताए ।
एक अर्काको भाषा संस्कृतिलाई बुझ्ने कोशिस गर्ने हो भने देशको अर्थतन्त्रमा समेत सुधार हुने भन्दै दिगो विकासका लक्ष्य सुधारका निम्ती परिवारको संरचना परिवार भित्रको अनुशासनले पनि सहयोग गर्ने उनको बुझाइछ ।