
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले ६ दसकदेखि आवाज उठाउनु परेको र अब बन्ने प्रक्रिया अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो ।
उनले भने, ‘त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौं । यसको लागि त बजेट विनियोजन हुन्छ । थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ । ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सँधै सकारात्मक र सहयोगी छौँ ।’
बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिएका हुन् ।
कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरू राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको पनि उनको भनाई छ ।
सोही क्रममा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हजारौं गफ भन्दा एउटा सानो काम महत्वपूर्ण हुने भन्दै गफ मात्र होइन काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हामी काममा विश्वास गर्छौ गफमा हैन । हामीलाई थाहा छ हजारौ गफ भन्दा एउटा सानो काम चै महत्वपूर्ण हुन्छ जुन आज हामीले गरेका छौ त्यसैले हामी गफ नगरीकन काम गरौ । आज सानो सुरुवात मात्र गरेका हौं । बल्ल ढोका खोली यात्रा सुरु भयो हामीले गर्नुपर्ने धेरै छन् ।’
कार्यक्रममा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए ।