Harsamaya
हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भन्छु तर घरीघरी उहाँलाई के हुन्छ, हुन्छः  प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

धरान - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्बोधन गरेका छन् ।

धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको उल्लेख गर्दै यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् ।

उनले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गरे ।

सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न कोशिस गरेको बताउँदै उनले समावेशी पूर्वाधार विकास अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गराए ।  

त्यस्तै, भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेशलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा गरिएको उनले बताए । 

उनले सोही कार्यकालमा आमाबाबु नेपाली नागरिक भए पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिएको, मिटर व्याजको समस्याको समाधान गर्न पहल गरिएको र आर्थिक सुधारको दिशामा महत्वपूर्ण काम भएको जानकारी दिए । आफूले अगाडि सोको सामाजिक सुरक्षा योजनामा अहिले विदेशमा रहेका १५ लाखभन्दा बढी नेपाली समेटिएको र यस योजनालाई निजी क्षेत्रसम्म विस्तार गर्ने तयारी आफू नेतृत्वको सरकारको रहेको उनले बताए । 

पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो।

‘मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गरेका छन्।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update