Harsamaya
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु ।

काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को  दसौँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह आयोजनामा हिजो सुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि  काम गरिरहेको उल्लेख  गर्दै नेपाली उद्योग व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे। 

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली  उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्त्वपूर्ण योगदान पुराउने बताए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खोजेका उनको धारणा थियो । 'मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीबिच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ' वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update