
रौतहट - रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्करलाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाइकल जुधेर ठूलो दुर्घटना भएको छ।
बुधबार अपरान्ह साढे तीन बजेको समय दुईवटा बोरामा किराना सामान बोकेका ग ४प ४०७३ नम्बरको मोटरसाइकल हेरेर पुलको पश्चिमतर्फ बसेको सशस्त्र प्रहरीको गस्ती टोलीले रोक्न खोजेको थियो।
तर सामान बोकेको मोटरसाइकल चालकले तुफान कुदाएर कटहरिया बजारतर्फ भागिरहेका थिए । सोही सामान बोकेको मोटरसाइकल रोक्न बा ८४ प ७३८३ को मोटरसाइकलमा दुई जना सशस्त्र प्रहरी चढेर पछ्याउँदै गर्दा नदीको पुल भन्दा करिब दुई सय मिटर पूर्वपट्टि बजारबाट किनमेल गरेर फर्किँदै गरेको भारतीय नम्बर विआर ३०० ७९३६ नम्बरको मोटरसाइकलसँग जुधेको प्रत्यक्षदर्शीले बताएका छन्।
तीनवटै मोटरसाइकल तीव्रगतिमा रहेको कारण ठूलो दुर्घटना भएको प्रत्यक्षदर्शी कटहरिया ४ का वडा सदस्य वैद्यनाथ दाशले बताएका छन्।
दुर्घटनामा परेर भारतीय नम्बर मोटरसाइकल चालक फतुवा विजयपुर ४ टेंग्राहाका ४० जिनिस साह र पछाडि बसेका ५० वर्षीय अनुठा यादवको टाउको लगायतको स्थानमा गम्भीर चोट लागेको वडा सदस्य दाशले जानकारी दिएका छन्।
दुर्घटनापछि गाउँतिरबाट किनमेल गरी फर्किरहेका तथा किनमेल गर्न आउँदै गरेका मानिसहरूले दुवै जना सशस्त्र प्रहरीलाई निर्घात कुटपिट गरेका थिए। घटना लगतै ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएका गस्ती टोलीमाथिपनि सामान्य हातपात भएको छ। आक्रोशित स्थानीयहरूले कटहरिया लालबकैया नदीको पुल भएर जाने बाटो समेत अवरोध गरेका छन्।
भारतीय नम्बर मोटरसाइकलमा सवार दुवैजनालाई कटहरियामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्समा वीरगंज रेफर गरिएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
त्यस्तै घाइते सशस्त्र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा घटनास्थलमा अहिले व्यापक रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।