
काठमाडौं - नेपाल बाल संगठनको नाममा रहेको काठमाडौं–नक्सालस्थित २८ रोपनी ५ आना जग्गा कौडीको मूल्यमा लामो समयका लागि भाडामा दिएको काण्डमा अब कानुनी कारबाही अघि बढ्ने भएको छ।
महान्यायाधिवक्ताको कार्यालयले सरकारी सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको हो।
सहमहान्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार यसअघि जिल्ला र उच्च सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे पनि अनुसन्धान प्रतिवेदनमा उजागर भएका तथ्यका आधारमा अब मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको हो।
उक्त जग्गा ७९ वर्षसम्मका लागि अत्यन्तै कम मूल्यमा भाडामा दिइएको र यसबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको आरोपमा बाल संगठनका पदाधिकारीसहित संलग्नहरू दोषी देखिएको उल्लेख गरिएको छ।
यो प्रकरणले राज्यका सम्पत्तिको प्रयोग र संरक्षणमा भइरहेका अनियमितता र राजनीतिक पहुँचको दुरुपयोगसम्बन्धी बहस पुनः चर्काउने देखिएको छ।