Harsamaya
भोकभोकै मर्दै गाजाका बालबालिका, इजरायली नाकाबन्दीले ३५ सय मृत्युको मुखमा
गाजाको अस्पतालमा उपचार गर्दै एक बालक ।

गाजा - मानिस अहिलेको युगमा पनि खान नपाएर मरिरहेका छन् र कुपोषणको शिकार भइरहेका छन् भन्दा तपाईंलाई कस्तो लाग्ला ? हो अहिले सोही अवस्थामा गाजाका बालबालिकाहरू रहेका छन् । उनीहरूले न भनेको समयमा खान पाएका छन् न पौष्टिक तत्वहरू नै खान पाएका छन् । न उनीहरुलाई युद्धबारे थाहा छ न युद्धमा सहभागी नै छन् । तर,  सबै भन्दा बढी मार उनीहरुले खेपिरहेका छन् । हमास इजरायल युद्धले गाजामा पाँच वर्ष मुनिका तीन हजार ५०० भन्दा बढी बालबालिका भोकमरीले मृत्युको सामना गरिरहेका छन् ।

गाजाको सरकारी मिडिया कार्यालय (जीएमओ) का अनुसार दुई महिनाभन्दा बढी इजरायली नाकाबन्दीको बीचमा गम्भीर कुपोषणका कारण करिब ७० हजार बालबालिका अस्पतालमा भर्ना हुन पुगेका छन् ।

‘यस व्यवस्थित नाकाबन्दी अन्तर्गत पाँच वर्ष मुनिका ३५ सय भन्दा बढी बालबालिकाले भोकमरीले मृत्युको सामना गरिरहेका छन् जबकी लगभग ७० हजार बालबालिका कुपोषणका शिकार भएर मृत्युको छेउमा छन्,’ जिएमओले टेलिग्राममा जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

‘दैनिक ११ लाख बालबालिकालाई बाँच्नको लागि न्यूनतम पोषणको अभाव भएको बेला यो ‘इजरायली’ले भोकमरीलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ, जो लज्जास्पद अन्तर्राष्ट्रिय घटना हो’ उसले अगाडी भन्यो ।

उसका अनुसार कम्तीमा ५७ प्यालेस्टाइनी बालबालिका भोकले मरिसकेका छन् । तर यसले इजरायललाई २.३ मिलियन प्यालेस्टाइनीलाई आएको राहत सहायता प्रवेश गर्न अनुमति नदिएर थप संकटमा पारेको छ ।

सहायता एजेन्सीहरूले पनि खाद्यान्न र आपूर्तिको अभावले क्षेत्रलाई भोकमरीमा पुर्‍याएको जनाएका छन् । कुपोषणको उपचार र रोकथामका लागि आएका आपूर्तिका समानहरू घट्दै गएका छन् र त्यो अब केही समयमा सकिन लागेको गाजा सरकारले जनाएको छ।

बजारमा अझै पनि उपलब्ध थोरै खाद्यान्नको मूल्य गाजामा धेरैका लागि अप्ठ्यारो छ, जहाँ संयुक्त राष्ट्र संघले ८० प्रतिशत भन्दा बढी जनसंख्या सहायतामा निर्भर रहेको बताउँछ।

अहिले पनि सहायता समूह र अधिकार अभियानकर्ताहरूले इजरायलले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। तर, इजरायलले आफ्नो पक्षमा युद्ध पार्नका लागि हमासलाई दोष देखाइरहेको छ । उसले अझै पनि इजरायली बन्दीहरूलाई रिहा गर्नका लागि सहायता ट्रक रोकेर नाकाबन्दी गरिरहेको छ । उसका अनुसार गाजामा रहेका ५९ बन्दीमध्ये अझै पनि २४ जना जीवित रहेको इजरायलको तर्क रहँदै आएको छ।

गाजामा इजरायलको युद्धमा कम्तीमा ५२ हजार ४९२ प्यालेस्टिनी मारि सकेका छन् भने १ लाख १८ हजार ३६६ गम्भीर घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

जीएमओले भने यसरी मारिनको संख्या ६१ हजार ७०० भन्दा बढी रहेको दाबी गरिएको छ किनभने गाजाको भग्नावशेष मुनि अझै पनि हराएका हजारौं मानिसहरूको मृत्यु भइसकेको उसको अनुमान छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update