
काठमाडौं - आवासीय चिकित्सक र सरकारबीच सहमति भएसँगै लामो समयदेखि आन्दोलनरत चिकित्सकहरू काममा फर्किएका छन् । शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति भएसँगै उनीहरू काममा फर्किएका हुन् ।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएको हो ।
सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए ।
आवासीय चिकित्सकहरूले निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको बताए ।